×

शहीदको सपनालाई तिलाञ्जली दिने चेष्टा नगरौं


कांग्रेस होस् या कम्युनिष्ट पार्टी, मध्यम वर्गीयले हाँकेका छन् । यो वर्गको स्वभाव कस्तो हुन्छ भने पाए जति खाइहाल्ने । भोलिका लागि राखौं नभन्ने । कोरोनाका बेला पनि कसैलाई पार्टी अध्यक्ष, कसैलाई प्रधानमन्त्री चाहिएको पनि त्यसैले गर्दा हो । मूल ध्यान केमा दिने भन्नेमै प्रष्ट देखिएनन् ।

कम्युनिष्ट पार्टीले राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्नुपर्ने हो । तर, व्यवहारिक रुपमा दलाल पुँजीवादकै पक्षधर छौं । आत्मनिर्भर भएको भए कसैले थिचोमिचो गर्न पाउँदैनथे । त्यतातिर कसैको ध्यान गएजस्तो लाग्दैन ।

 


माधवकुमार नेपाललाई अध्यक्ष र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आयो रे भन्ने सुनेको छु । यो प्रस्ताव नै हाँसोलाग्दो छ । पार्टीमा दुईजना अध्यक्ष छन् । संविधान संशोधन नगरी उहाँलाई प्रधानमन्त्री बनाउन सकिने अवस्था पनि छैन ।

भावनात्मक रुपमा पार्टी एकीकरण भइसकेको छैन । सिद्धान्त के हो भन्ने पनि थाहा छैन । साविक एमालेले जनताको बहुदलीय जनवाद भन्दै आएको छ । साविक माओवादीले चाहिँ जनताको जनवाद भन्ने गरेका छन् । सैद्धान्तिक रुपमा एक ठाउँमा आउनका लागि त सैद्धान्तिक बहस छलफल हुनुपर्‍यो नि ।

यद्यपि अहिले देखिएको विवादका कारण पार्टी विभाजनमा जाँदैन । किनभने, यो पार्टी टुप्पोबाट बनेको पार्टी होइन । भुइँबाट बनेको पार्टी भएको हुनाले फुट्दैन । नेताहरूका कारण भन्दा पनि भुइँ संस्कारले गर्दा पार्टी फुट्दैनन् । सामाजिक सञ्जालमै कति दबाव आएका छन्, हेर्नुस् ।

नेतृत्वको कुरा गर्नुहुन्छ भने दुबै अध्यक्षलाई संगठन भनेको के हो थाहा छैन । ओलीजी वर्ष १४ वर्ष जेल बस्दा त संगठन गर्नुभएन । प्रचण्डजी त प्रचण्डपथ भन्दै हिँड्नुभयो, सुप्रीम कमाण्डर हुनुभयो । ओली र प्रचण्डले संगठन भनेको के हो भन्ने बुझेको भए अहिलेको अवस्था नै आउने थिएन ।

ओलीजी म झापा आन्दोलनबाट आएको हुँ भन्नुहुन्छ, प्रचण्डजी प्रचण्डपथ भन्दै हिँड्नुहुन्छ । कमसेकम माधव नेपालमा यस्तो दम्भ छैन । उहाँहरू मध्येमा माधव नेपाल सबैभन्दा राम्रा व्यवस्थापक हुन् । तुलनात्मक रुपमा छवि पनि उहाँकै राम्रो छ ।

मान्छे जति बुढो हुँदै गयो, त्यति केटाकेटीजस्तो हुँदै जाँदोरहेछ । त्यसकारण ६० वर्ष माथिका कोही पनि केन्द्रीय कार्यकारी पदमा नबसौं । पार्टी अध्यक्षको जिम्मेवारी ५० वर्ष हाराहारी उमेर भएकालाई दिउँ । रोस्टर बनाउँ र नयाँ नेतृत्व चयन गरौं । ब्रम्हनालसम्मै कुर्सीमा जान पाए हुन्थ्यो भन्ने सोच त्यागौं ।

कमसेकम रत्नकुमार बान्तवा, हरि नेपाल, रामनाथ दाहालहरूको सपना मर्न नदिऔं । पार्टी अध्यक्ष वा प्रधानमन्त्री पदमा पुग्नका लागि शहीदको सपनालाई तिलाञ्जली दिने चेष्टा नगरौं ।

४०० जनाको केन्द्रीय समितिमा म पनि सदस्य छु । त्यत्रो मान्छे भएको सभा त हुन्छ, बैठक हुँदैन । फोन उठाउने नेताहरुलाई सल्लाह दिन्छु । कतिले त फोन पनि उठाउनुहुन्न । माधव नेपालले अलि बढी फोन उठाउनुहुन्छ । उहाँलाई सल्लाह दिन्छु ।

सबैले आ–आफ्नो जिम्मेवार पूरा गरौं । र, अविलम्ब महाधिवेशनमा जानु पर्छ । यो पार्टीलाई कम्युनिष्ट पार्टी बनाइराख्ने हो भने नेतृत्व परिवर्तन महाधिवेशनबाटै गर्नुपर्छ । पार्टीको नाममा कांग्रेसको जस्तो भिड बनाउनुको अर्थ छैन ।

समयमै महाधिवेशन गर्नुको विकल्प छैन । फेरि यो हाम्रो रहरको मात्रै कुरा होइन । निर्वाचन आयोगले पनि समयै महाधिवेशन गर्नु भनेको हुन्छ ।

समयमा महाविधेशन नगरे पनि शक्ति भएको पार्टी खारेज हुँदैन भनेर बस्नुहुँदैन । पार्टी एकीकरण नभएको भए एमालेको महाधिवेशन गत वर्ष नै भइसक्नु पर्थ्यो । त्यसैले, सकेसम्म छिटो महाधिवेशनमा जानु नै अहिलेको समस्याको निकास हो । २०७७ सालभित्रै महाविधेशन गर्नुपर्छ ।

( नेकपा नेता प्रदीप नेपालसँग अनलाइनखबरले गरेको वार्तामा आधारित)

सम्बन्धित खवर