×

‘घरभाडामा बस्नेले पनि विद्युत महसुल छुट पाउँछन्’

तामाङ आवाज


कोरोना भाइरसले विश्व आक्रान्त छ । त्यसको प्रभाव हामीलाई पनि प्रत्यक्ष परेको छ । आर्थिक, सामाजिक तथा दैनिक जीवनमा पनि प्रभाव परेको छ ।

त्यसो हुँदा अप्ठ्यारो अवस्थालाई जनतालाई राहत दिने उद्देश्य राखिएको छ । कूल १५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई छुट दिने भन्ने निर्णय भएको छ ।

 


हामी ग्यास आयात गरिरहेका छौँ । लकडाउनको समयमा पर्याप्त आपूर्ति त भएको छ । तैपनि विदेशबाट डलर तिरेर ग्यास ल्याउने र घर घरसम्म पु¥याउने विषय आफैँमा बोझिलो पनि छ । यस आधारमा सङ्क्रमणको खतरा छ । घर घरमै पुगेको बिजुलीमा नै प्रोत्साहन गर्नुपर्छ भनेर हामीले निर्णय गरेका हौँ ।

१५० युनिट भनेको सामान्यता पाँच जनाको परिवारमा दैनिक तीनदेखि पाँच यूनिटसम्म खर्च हुँदो रहेछ, इन्डक्सन चुल्हो प्रयोग गर्दा । त्यतिसम्म छुट दियो भने हामीसँग भएका कूल ४३ लाख ग्राहकमध्ये झण्डै सबै ग्राहक समेटिन्छ ।

दुई लाख जति ग्राहक सो परिमाणभन्दा बढी प्रयोग गर्ने छन् । त्यसो गर्दा समेत उनीहरुलाई पनि १५० यूनिटमा छुट दिन सकिन्छ । अप्ठ्यारो अवस्थामा राहत दिने उद्देश्य राखिएको छ । यसैबाट ग्यासलाई विस्तारै विद्युतीय चुल्हो वा विद्युतीय सामग्रीको प्रयोगतर्फ लैजान सकिन्छ भनेर यो निर्णय गरिएको हो ।

छुट कसका लागि ?

अहिलेको अवस्थामा १५० यूनिटसम्म विद्युत् प्रयोग गर्ने सबैजसो ग्राहस्थ उपभोक्तासम्मलाई छुट हो । यति मात्रै किन त भन्दा जो विद्युतीय चुल्होमा जान चाहन्छ, यसलाई खुलेरै प्रयोग गर्न सकोस् भन्ने ध्येय राखिएको छ ।

विद्युतीय चुल्होतर्फ आकर्षण गरोस् भनेर गरिएको हो । सरकारले इन्डक्सन चुल्हो आयातमा पनि भन्सार छुट दिने निर्णय गरेको छ । ग्यासमा दिइएको अनुदान झण्डै एउटा सिलिण्डरमा रु ३०० रहेको छ । त्यो भनेको वार्षिक झण्डै रु नौ अर्ब बराबरको हुन जान्छ । त्यसलाई विस्तारै हटाउनेतर्फ जान्छौँ । इन्डक्सन चुल्हो प्रयोग गर्ने तह भनेको १०० देखि १५० यूनिट नै हो । त्यो घर परिवारलाई विद्युत् महसुलसमेत सस्तो गर्ने प्रस्ताव समेत गरिसकेका छौँ ।

त्यसो गर्दा, हामी आफैँले उत्पादन गरेको विद्युत् प्रयोग हुन्छ । विदेशबाट हाम्रा युवा युवतीले पठाएको विप्रेषण देशभित्रै सञ्चितीमा रहने वातावरण पैदा हुन्छ । त्यो पैसाले हामीले वार्षिक झण्डै रु ६४ अर्ब बराबरको ग्यास आयात गरिरहेका छौँ, त्यो कम हुन्छ । वार्षिक बजेट जस्तै वार्षिक व्यापार घाटा रहेको छ । त्यसलाई सन्तुलन गर्दछ ।

विद्युत् ग्यासभन्दा सस्तो पनि छ । विस्तारै आगामी वर्षदेखि वर्षामा आत्मनिर्भर हुँदैछौँ । आफ्नो विद्युत्को बजार समेत देशभित्रै बनाउन सक्छौँ । थप बजार खोज्नुपर्ने अवस्था हुँदैन । बहुआयामिक उद्देश्य राखेर नै यो निर्णय भएको छ ।

भाडामा बस्नेले पनि छुट पाउँछन्

सरकारले दिएको छुट ग्राहस्थ ग्राहक सबैका लागि हो । भाडामा बस्नेले सहायक मिटर लिएको त हुन्छ, तर मुख्य ग्राहकको मिटरबाटै अध्ययन गर्ने गर्दा रहेछौँ । त्यसमा १५० यूनिटमा २५ प्रतिशत छुट त पाउने नै भए । त्यो भन्दा बढीको हकमा नपाउने भयो ।

घरबेटीले थप चार्ज लगाउने अवस्था छ, त्यो गर्न पाइँदैन । त्यो हामीले कानूनी विषय नै बनाउँछौं । अवैध रुपमा त्यसरी थप रकम असुल्न पाइँदैन । हामीले जतिमा दिन्छौँ, त्यसमा बढाएर लिने गर्न पाइँदैन ।

सरकारले दिएको छुट कोठामा बस्नेले पनि पाउनु नै पर्छ । व्यवस्था यही हो । आगामी दिनमा यसलाई अध्ययन गरेर, अस्थायी वा सब–मिटर दिने गरिएको छ, त्यसलाई पनि हेरेर अलगअलग छुट गर्ने व्यवस्था गर्नुपर्छ भनेर महसुस गरेका छौँ । लाखौँ मान्छे, डेरामा बस्ने अवस्था छ । घरबेटीले छुट पाउने तर जुन वर्गलाई हामीले लक्षित गरेका छौँ, त्यसले नपाउने अवस्था आउन सक्छ ।

सामान्य अवस्था आएपछि हामी इन्डक्सन वा विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्ने नीतिका साथ अगाडि बढाउँछौँ । समग्र नीति बनाउँदा हामी त्यसलाई व्यवस्थापन गर्छौँ । जहाँसम्म इन्डक्सन प्रयोग गर्नेलाई १५० यूनिटसम्मको हकमा केही छुट दिने निर्णय गर्दा केही मानिसहरुले ‘हासी मजाक’ पनि गरे ।

मैले वाणिज्य मन्त्रालयसँग कुरा गर्दा हामीसँग कूल ६ हजार बढी इन्डक्सन चुल्हो छसमेत भनेको अवस्था छ । यद्यपी ती चुल्हो बिक्री भइसकेको छ । निजी क्षेत्रसँग झण्डै २० हजार बराबरको इन्डक्सन चुल्हो छ भन्नुभएको छ । मैले त्यो विषय सामाजिक सञ्जालमा राखे । त्यो रातारात एक हप्तामा नै बिक्री भयो ।

बजारमा झण्डै २० हजारको हाराहारीमा विद्युतीय चुल्हो रहेको थियो, त्यो पनि बिक्री भएको छ । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही चुल्हो ल्याउने तयारी गर्दैछ । निजी क्षेत्रले पनि चुल्हो ल्याउने तयारी गर्दैछ । थोरै प्रोत्साहन गर्दा पनि आम रुपमा त्यसको सकारात्मक सन्देश जाँदो रहेछ भन्ने स्पष्ट भएको छ । यो मैले महसुस गरेको विषय हो ।

काठमाडौंको प्रणाली सुधार हुन्छ

काठमाडौँमा हाम्रो झण्डै ५०० मेगावाटसम्म आपूर्ति गर्ने क्षमता रहेको छ । गत हिउँदमा ४५० मेगावाटसम्मको माग भयो । त्यसले काठमाडौँ उपत्यकामा चाप प¥यो भन्ने देखायो ।

त्यसलाई हामीले हेरेर हामीले हिमाल सिमेन्टको कारखाना रहेको र हाल निर्माणको क्रममा रहेको सुक्खा बन्दरगाह नजिक छिट्टै सवस्टेशन राख्दैछौँ । त्यसबाट ललितपुर र भक्तपुरमा विद्युत् उपलब्ध गराउन थप सहज हुन्छ । चक्रपथभन्दा बाहिर त्यसले काम गर्छ ।

चक्रपथभित्रको आपूर्तिमा हामीलाई प्रेसर कम हुन्छ । जहाँजहाँ सम्भव हुन्छ, त्यहाँत्यहाँ ट्रान्सर्फमर परिवर्तन गर्दैछौँ, काठमाडौँ उपत्यकाभित्र पनि । सबैभन्दा ठूलो क्रान्तिकारी सुधारको रुपमा हामीले विद्युतीय प्रणाली नै भूमिगत गर्दैछौँ । त्यो प्रणाली जडान हुनेबित्तिकै भरपर्दो खालको प्रणाली विकास हुन्छ । ट्रिपिङको अवस्था रहँदैन ।

सवस्टेशनको क्षमता विकास गर्छौ । काठमाडौँ भित्रने केही लाइनमा सुधार गर्दैछौँ । त्यसो हुँदा काठमाडौँमा एक हजार २०० मेगावाटसम्म पनि खपत गर्न सकिने खालको प्रणाली विकास हुन जान्छ । भूमिगत प्रसारण प्रणालीलगायत विभिन्न विकल्प सहितको काम गर्दैछौँ । अहिले पनि सात लाख बढी इन्डक्सन बजारमा प्रयोग भइरहेको छ ।

लकडाउन अगाडिको ‘डिमाण्ड’ नै एक हजार २०० मेगावाट बढी थियो । त्यसपछि झरेर ७०० मेगावाटमा आयो । रातको समयमा त्यो पनि घटेर ५०० मेगावाटको हाराहारीमा आउँछ । बिहान ७०० मेगावाटको हाराहारीमा पुग्छ, साँझ पनि अवस्था त्यही छ ।

किन त भन्दा, काठमाडौँमा इन्डक्सन प्रयोग भएको छ । खाना पकाउन विद्युतीय सामग्रीको प्रयोग भएको छ भन्ने त्यसले देखाउँछ । गुणात्मक रुपमा विद्युत् खपत वृद्धि गर्न प्रसारण तथा वितरण प्रणालीमा सुधार गर्छौ ।

राष्ट्रिय समाचार समितिका लागि रमेश लम्सालसँग गरेको कुराकानीमा आधारित


सम्बन्धित खवर

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ बैशाख २०७८, बिहीबार

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !
१६ बैशाख २०७८, बिहीबार

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार