×

लकडाउन थप्न सजिलो, तर थाम्न ?

तामाङ आवाज


२९, चैत, काठमाडौं । लकडाउनका विषयमा अहिले नेपालमा जनमत खासै विभाजित छैन । कोरोनाको सम्भावित प्रकोप रोक्न लकडाउन अपरिहार्य थियो र अझै छ भन्नेमा समाजका सबै तह–तप्का लगभग सहमत देखिएका छन् । यही जनसमर्थनको आडमा सरकारले दोस्रोपटक लकडाउन एक हप्ता थप्यो र अझै थप्न सक्ने ठानिएको छ ।

नेपालमा कोरोनाको महामारी फैलिएको होइन । यदि सरकारले बेलैमा केही अत्यावश्यक कदम चालेको भए एकाध व्यक्तिमा संक्रमण देखिँदैमा सिंगो देशलाई यसरी ठप्प पार्नु आवश्यक पर्ने थिएन कि ?

 


तर, हामीले झण्डै तीन हप्ताको लकडाउन झेलिसक्यौं । अझै पनि यही मोडलमा लकडाउन थप्दै जाने हो भने कोरोनाबाट त बचौंला । तर, अभाव र भोकमरीले मर्ने स्थिति नआउला भन्न सकिँदैन ।

समाजको एउटा वर्ग तीनहप्ताकै लकडाउनले आलस–तालस बनिसकेको छ । त्यसर्थ, अब सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने उपाय खोज्नु अत्यावश्यक देखिन्छ ।

नेपालमा पहिलो कोरोना संक्रमण ९ माघमा देखिएको थियो । चीनबाट आएका युवाले कोराना भित्र्याए पनि यो फैलिएन । उनी आफैं पनि निको भए । त्यसबेला कोरोनाको त्रास देशभित्र खासै थिएन । धेरै नेपालीले त कोरोना भनेको सुनेका पनि थिएनन् । त्यसैले सरकारले पनि यसलाई धेरै ठूलो रुपमा लिएन । तर, जब कोरोनाको महामारी फड्किएर यूरोप–अमेरिका हुँदै भारतसम्म आयो, अनि सरकारले एकैचोटि लकडाउनको अन्तिम अस्त्र प्रयोग गर्नुपर्‍यो ।

सरकारले तत्कालीन परिस्थितिमा जनताको भावनाअनुसार नै यो कदम चालेको थियो । फ्रान्सबाट फर्किएकी युवतीमा संक्रमण पुष्टि भएपछि जनतामा त्रास फैलिएको थियो र लकडाउन नै गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा बलियो थियो ।

यद्यपि, कतिपय अवस्थामा जनताले भन्दा सरकारले फरक तरिकाले सोच्नुपर्छ । जस्तो– पाकिस्तानका राष्ट्रपति इमरान खानले जनतालाई सम्वोधन गर्दै स्पष्ट शब्दमा भने कि हामी चीन र इटलीजस्तो देशलाई लकडाउन मा राख्न सक्दैनौं । हाम्रो देशमा ज्याला मजदुरी गरेर खाने गरिबीको रेखामुनि रहेको जनसंख्या ठूलो छ । लकडाउन गर्दा उनीहरु भोकै पर्छन् ।

स्मरणीय के छ भने पाकिस्तानमा कोरोना संक्रमण नेपालमा भन्दा निकै बढी छ । तर, इमरानले देश लकडाउन नगरी यो रोगसँग लड्न सकिन्छ भन्ने आत्मविश्वास प्रस्तुत गरिरहेका छन् ।

अमेरिकाजस्तो विश्वकै समृद्ध र शक्तिसम्पन्न देशका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत लकडाउन गर्न डराइरहेका छन् । चौतर्फी आलोचना खेपेर पनि उनले देशलाई खुल्ला राखेका छन् । किनकि, उनलाई अर्थतन्त्र भत्किने डर छ ।

कोरोनाको इपिसेन्टरका रुपमा रहेको यूरोपका कतिपय देशले लकडाउन छैनन् । यथार्थमा भन्ने हो भने नेपालमा जति कडा लकडाउन विश्वमा अन्यत्र सायदै होला । भारतमै पनि लकडाउनको व्यापक उल्लंघन छ ।

चीनको मोडल नेपाललाई भारी ?

कोरोनाको उद्गम देश चीनले लकडाउन अस्त्र प्रयोग गरेर कोरोनालाई परास्त गरेको नजिर स्थापित गर्‍यो । भाइरस फैलन नदिन उसले हुवेई प्रान्तलाई सिलबन्दी गरिदिएको थियो । हुवेईको वुहान सहरको लकडाउन त केही दिनअघि मात्र खुलेको छ ।

चीनको सूत्र सफल भएको ठानेर धेरै देशले यसलाई पछ्याउने कोशिस गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि लकडाउनलाई नै मुख्य अस्त्र मानेको छ । यस अर्थमा नेपालमा गरिएको लकडाउनमाथि खासै प्रश्न उठाइएको छैन ।

तर, चीनको शैली अनुशरण गरिरहँदा नेपालले के बिर्सनुहुँदैन भने चीन र नेपालको धरातलीय यथार्थ नितान्त फरक छ । हामी चीनजस्तो समृद्ध देश होइनौं । चीन, इटलीजस्ता राष्ट्रले केही दिन होइन, केही महिनाको लकडाउन पनि सजिलै पचाउन सक्छन् । उनीहरुको अर्थतन्त्रसँग त्यो ब्याकअप छ ।

चीनले लकडाउन भनेर जनतालाई घरभित्रै थुनेको मात्र थिएन । अत्यावश्यक चिजहरुको आपूर्ति घर–घरमा पुर्‍याएको थियो । नियमित स्वास्थ्य जाँचको व्यवस्था गरेको थियो । यस्तो अभ्यास नेपालले गर्न सकेको छैन र सक्दैन । त्यसका लागि हामीसँग यथेष्ट स्रोत–साधन र जनशक्ति छैन ।

जनतालाई घरबाट बाहिर ननिस्कन उर्दी गरिरहँदा दैनिक काम गरेर गुजारा गर्ने वर्गलाई संरक्षण गर्ने कुनै कार्यक्रम सरकारसँग छैन ।

काठमाडौंमा जीविका चलाउन कठिन भएपछि हिँडेर घरतर्फ जाँदै सुनसरीका मजदुरहरु ।
त्यसो त देशकै वास्तविक अवस्था एउटा ज्यालादारी मजदुरकै जस्तो छ, आजको कमाइले आजै खाने । त्यसो हुँदा प्रत्येक दिनको लकडाउनले नेपालको अर्थतन्त्रलाई अकल्पनीयरुपमा क्षति पुर्‍याइरहेको सहज अनुमान गर्न सकिन्छ ।

सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो । तर, यो वर्ष आर्थिक वृद्धि धनात्मक मात्रै भयो भने पनि त्यसमा खुशीले नाच्नुपर्ने अवस्था छ । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड रेमिट्यान्स आप्रवाहमा छ । पर्यटन उद्योग धराशयी बनेको छ । उद्योग व्यवसायहरुको अवस्था डामाडोल छ । देशले आम्दानी गर्ने सबै स्रोतहरु सुकेका छन् ।

अर्थतन्त्र बलियो भएका देशहरु त यो संकटबाट जसरी पनि निस्केलान् । नेपाल चाहिँ कसरी निस्किन्छ ? यो ज्वलन्त प्रश्न हो ।

कोरोना र लकडाउने देशलाई पुर्‍याउने क्षतिको आयतन भूकम्पको बेलाभन्दा ठूलो हुने देखिन्छ । भूकम्पको बेला त नेपालालाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गरेका थिए । अहिले त कसैसँग सहयोग माग्ने अवस्था पनि छैन । सबै आफ्नै देश सम्हाल्ने ध्याउन्नमा छन् ।

प्रकोप अन्त्य हुनासाथ विदेशबाट ह्वारह्वारी पर्यटक नेपाल आउने छैनन् । केही समय विश्वभरकै पर्यटन उद्योग कोमामा जान सक्छ । किनकी मानिसहरु विदेश यात्रा गर्न अझै केही समय उत्साहित हुने छैनन् ।

यसैगरी वैदेशिक रोजगारको क्षेत्र पनि कोरोनाले अस्तव्यस्त तुल्याएको छ । विभिन्न देशमा रहेका लाखौं नेपालीले रोजगारी गुमाएका छन् । अब नेपालको अर्थतन्त्रको मुख्य खम्बाका रुपमा रहेको रेमिट्यान्स आप्रवाहलाई फेरि पुरानो अवस्थामा फर्किन निकै समय लाग्न सक्छ ।

अर्कोतर्फ देशभित्रैको रोजगार क्षेत्रमा पनि संकट आउने पक्का छ । पहिल्यैदेखि कमजोर अवस्थामा रहेका स्वदेशी उद्योगहरु अब झनै जिर्ण बन्नेछन् । आइएलओले विश्वका आधा अर्ब जनसंख्या गरिबीको रेखामुनि जाने प्रक्षेपण गरेको छ ।

त्यसैले नेपालले कोरोनायुगपछि देशको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सरकारसित बलियो रणनीति र योजना हुनुपर्छ । त्यसबेला देशको कृषि उत्पादनको अभिवृद्धि र उद्योगधन्दाको विकासभन्दा सरकारसँग अर्को उपाय हुँदैन ।

अब लकडाउन खोल्ने कि ?

अब सरकारको प्राथमिकता भनेको सकेसम्म छिटो जनजीवनलाई सामान्यतर्फ लैजाने नै हुनुपर्छ । अहिलेसम्म ९ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या नगण्य हो । आगामी दिनमा केही बढ्न पनि सक्ला । तर, समुदायमा कोरोना फैलिनसक्ने खतराबाट हामी लगभग बाहिर निस्किसकेका छौं ।

नेपालमा २० दिनदेखि अन्तर्राष्ट्रिय उडान भएका छैनन् । त्यसैले तेस्रो मुलुकबाट थप संक्रमण भित्रिने सम्भावना टरेको छ । अबको जोखिम भनेको भारतबाट फर्किनेहरुको हकमा मात्रै हो । यदि भारतमा अनियन्त्रित ढंगले महामारी फैलियो भने नेपाललाई फेरि पनि खतरा हुन्छ । त्यसलाई छुट्टै रणनीति आवश्यक छ, जसबारे तल चर्चा गरिनेछ । तर, अब सिंगै देशलाई लकडाउनमा राख्नुपर्ने आवश्यकता र औचित्य देखिँदैन ।

लकडाउन थप्नु सरकारका लागि कुनै गाह्रो काम होइन । मन्त्रिपरिषदको एउटा निर्णयले पुग्छ । तर, एक हप्ता लकडाउन थप्दा त्यसले निम्न आय भएका जनतालाई कस्तो असर पर्छ भन्ने विषय बडो संवेदनशील छ ।

काठमाडौंबाट सुनसरीसम्म पैदल हिँडेर जाने मजदुरहरुका लागि कोरोनाको त्राश तेस्रो प्राथमिकतामा पनि पर्दैन । यो राज्य उनीहरुका लागि हो कि होइन ?

अबका चार दिनमा नाटकीय ढंगले नयाँ परिस्थिति उत्पन्न नभए ३ गतेपछि लकडाउन खोलिनु नै उचित देखिन्छ । एकैपटक नभए चरणवद्धरुपमा खुला गर्न सकिन्छ । कम जोखिम भएका काठमाडौं लगायतका सुरक्षित स्थानहरुलाई ३ गतेपछि पूर्ण खुल्ला गरेर सुदुरपश्चिम लगायत सीमावर्ती क्षेत्रहरुलाई केही समय नियन्तित्र राख्न सकिन्छ । सार्वजनिक सवारी र भिडभाडका ठाउँहरुमा उच्च सतर्कता अपनाउनुपर्ने छँदैछ ।

अन्तर्राष्ट्रिय उडानहरु भने तत्काल खुला गर्न सकिने अवस्था रहँदैन । खासगरी कोरोनाबाट बढी प्रभावित राष्ट्रहरुसँगको हवाई सम्बन्ध केही महिनासम्म स्थगित राख्नैपर्ने हुन्छ । भारतीय बोर्डरको कडा नियमन र अन्य देशहरुसँगको हवाई सम्वन्ध केही समय स्थगित राख्ने हो भने हामी अब आन्तरिक लकडाउन नगरिकन पनि कोरोनाबाट जोगिन सक्छौं ।

लकडाउनको पक्षपोषण गर्नेहरुसँग एउटा तर्क छ, यदि कथंकदाचित नेपालमा कोरोना फैलिइहाल्यो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता सरकारसँग छैन । यो बलियो तर्क हो । अमेरिका वा इटलीकै जस्तो अवस्था आयो भने भने गर्ने भन्ने सबैलाई लाग्छ ।

तर, यसमा जोखिम मूल्यांकन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । हामीले त्यति नै क्षति बहन गर्न तयार हुनुपर्छ जति जोखिम छ । नेपालमा पहिलो केस देखिएको झण्डै तीन महिना महिना भयो । यो अवधिमा ९ जना संक्रमित भेटिए । नेपालसँग सीमा जोडिएको देश चीन नै कोरोनाको उद्मस्थल थियो ।

चीनमा कोरोना उत्कर्षमा रहँदा त उसँग नेपालको हवाई उडानसमेत रोकिएको थिएन । तर, पनि नेपालमा कोरोना फैलिएन । यो सुखद संयोग हो । के कारणले नेपालमा कोरोना फैलिएन भन्ने जैविक वा प्राविधिक विश्लेषणको विषय हुन सक्छ । तर, सत्य यही हो कि फैलिएन । अब झन् फैलिने सम्भावना क्षिण छ । संक्रमितको संख्या केही थपिन सक्ला । त्यसमा आत्तिनुपर्ने केही छैन ।

भारतसँगको सीमा व्यवस्थापन

नेपालको लागि अहिले सबैभन्दा ठूलो टाउको दुखाईको विषय नै नेपाल–भारत बोर्डर बनिरहेको छ । नेपालमा कोरोना प्रवेश गर्न सक्ने सम्भावित खतराको प्वाल यही मात्र हो । यसको व्यवस्थापन जटिल र चुनौतिपूर्ण छ ।

उता, भारतीय मिडियाले नेपालबाट भारतमा महामारी फैलाउने षडयन्त्र भएको भनेर अफवाह फैलाइरहेका छन् । तर, यता वास्तविकतामा नेपाललाई खतरा भनेकै भारतबाट छ । किनकि देशब्यापी लकडाउनका बाबजुद भारतमा कोरोना संक्रमण घटेको छैन । भारतीय सीमा खुल्ला गर्दा नेपालमा सहजै संक्रमण पस्न सक्छ ।

तर, अहिले सीमाक्षेत्रमा हजारौं संख्यामा नेपालीहरु घर फर्किन नपाएर अलपत्र छन् । नेपालले छिर्न नदिएपछि उनी कोही सडकमा सुतिरहेका छन् त केहीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा नाममा खुला चौरमा राखेको छ । उनीहरुमाथि भारतीय प्रहरीले अमानवीय व्यवहार गरिरहेको समाचार आएका छन् ।

विभन्न प्रयोजनमा भारतमा लाखौं संख्यामा नेपालीहरु छन् । उनीहरुमध्ये ठूलो संख्या कामदारहरुको छ । कोरोनाका कारण उद्योग व्यवसायहरु बन्द भएपछि कैयनले रोजगार गुमाएका छन् । कति चाहिँ कोरोनाको त्राशले गर्दा स्वदेश फर्किन चाहन्छन् । त्यसैले सीमा नाकामा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किन नपाएर चित्कार गरिरहेका छन् । यो दर्दनाक अवस्था हो ।

लकडाउनअघि भारतबाट नेपाल प्रवेश गर्न गड्डाचौकी नाकामा भेला भएका सर्वसाधारण ।
एउटा नागरिकले आफ्नो देश फर्किन महाकाली नदीमा हाम्फालेको दृश्य राज्यविहीनताको भयानक विम्व हो ।

कारण जेसुकै भए पनि संकटको बेला घर फर्कन खोज्ने कुनै पनि नागरिकका लागि देशले ढोकामा आग्लो लगाउन मिल्दैन । देश गुहार्दै सिमानामा कराइरहेका नेपालीहरुको व्यवस्थापन सरकारले जुनसुकै मूल्य चुकाएर पनि गर्नैपर्छ ।

जसरी संकटको बेला आफ्नो सन्तान परेर घर फर्कन चाहन्छ भने कुनै पनि बाबुआमाले आफ्नो घरको ढोका बन्द गर्न सक्दैनन् । हरेक नागरिकका लागि अन्तिम अभिभावक भनेको राज्य हो । त्यसैले सीमा नाकामा चिच्याइरहेको नागरिकको चित्कार राज्यले नसुन्ने हो भने त्यो राज्यलाई नागरिकले कसरी अभिभावक ठान्न सक्छ ?

सरकार भन्छ, अहिले भावनामा नबगौं । जथाभावी मानिसहरु प्रवेश गराएर देशब्यापी संक्रमणको जोखिम नमोलौं । सरकारको आह्वान छ, जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुस् । भारतले नै त्यहाँ रहेका नेपालीहरुको संरक्षण गर्ने आशा सरकारले पालेको छ । सरकारको यो आशा भारतको हकमा हास्यास्पद लाग्छ ।

भारतको छाति कति फराकिलो छ भनेर जाँच्न हामीसँग प्रशस्तै दृष्टान्त छैनन् र ? आफ्नो देशमा शरण लिन आएका नेपालीभाषी भुटानीलाई समेत ट्रकमा लोड गरेर नेपाल ल्याएर फ्याँकिदिने देश हो । नेपाल भुकम्पले थिलथिलो बनेका बेला नाकाबन्दी लगाएर घाँटी अँठ्याउने देश हो । त्यही भारतले नेपालीहरुलाई सुरक्षितरुपमा क्वारेन्टाइनमा राखेर भरणपोषण गरिरहेको होला ? अझ, भारत आफैं कोरोनासँग जुधिरहेको बेला त यो झनै असम्भव कुरा हो । भारतलाई नचिनेको जस्तो नगरौं । आफ्ना जनतालाई अविश्वासिलो छिमेकीको जिम्मामा नछाडौं ।

त्यसो भए के गर्ने ? ह्वारह्वार्ती नेपाल प्रवेश गराउने ? त्यो पनि होइन । नियन्त्रित ढंगले छिराउने हो । त्यसका लागि केही दिन लाग्न सक्छ । सीमा नाकामा सुरक्षा र स्वास्थ्य संयन्त्र बलियो बनाउनुपर्छ । दैनिक निश्चित संख्यामा उनीहरुको स्वास्थ्य परिक्षण गरेर छिराउनुपर्छ ।

छिराएपछि सबैभन्दा जटिल काम आउँछ, उनीहरुलाई क्वारेन्टाइनमा राख्ने । नेपाल प्रवेश गर्नासाथ समाजमा घुलमिल गराउनु खतरापूर्ण हुन्छ नै । त्यसैले उनीहरुलाई कम्तिमा १४ दिन अनिवार्य आइसोलेसनमा राख्नुपर्छ ।

यसका लागि खुल्ला ठाउँ खोजेर क्याम्पहरु निर्माण गर्नुपर्ने हुन्छ । खाली रहेका होटल, विद्यालय, वा अन्य सार्वजनिक भवनहरुलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । यस्ता क्वारेन्टाइनमा स्थानीय प्रशासनको कडा नियमत हुनुपर्छ । रासनपानीको आपूर्ति व्यवस्था सरकारले मिलाउनुपर्छ । कोही आशंकित देखिए तुरुन्तै अस्पताल लगेर परिक्षण गराइनुपर्छ ।

यसप्रकारले एक–डेढ महिनासम्म भारतबाट आउनेहरुको व्यवस्थापन गर्न सक्ने नेपालको खतरा टर्छ ।

रोग ठूलो कि भय ?

वास्तवमा भन्नुपर्दा नेपालीलाई कोरोनाले होइन कोरोनाको भयले नै भित्रैबाट हल्लाइदिएको छ । चियापसलदेखि सामाजिक सञ्जालसम्म त्रासदीपूर्ण गफहरु सुनिन्छन् । प्राय गफहरु ‘यदि नेपालमा कोरोना फैलियो भने देश सोत्तरै हुने’ निस्कर्षमै टुंगिन्छन् । कोरोना लाग्नासाथ मरिन्छ भन्ने भ्रमित सोचाईले नै भय बढाइरहेको छ र हामीलाई कमजोर बनाइरहेको छ ।

जनतामा रहेको भयले गर्दा देशको स्वास्थ्य प्रणालीसमेत अस्तव्यस्त बनेको छ । यतिबेला लकडाउन खुकुलो पार्नुसँगै जनताको मनबाट अतिरिक्त त्रास झिक्नु पनि उत्तिकै महत्वपूर्ण विषय हो ।

जनताको मनोविज्ञान यस्तो भएको छ कि ख्वाक्क खोकी लाग्नासाथ आत्तिइहाल्ने । कोरोनाको परिक्षण नगर्दासम्म ढुक्क हुन नसक्ने । यही अतिरिक्त त्राश स्वास्थ्यकर्मीहरुमा सर्दा ज्वरो आएका र खोकी लागेका बिरामीहरु नजिक पर्नै डराइरहेका छन् । यसले गर्दा कतिपय सामान्य रोगका बिरामीले पनि उपचार पाएका छैनन् ।

जनताको मनोबल बढाउनका लागि कोरोनाका विषयमा सकारात्मक तथ्यहरु प्रवाह यो बेला अत्यन्त महत्वपूर्ण हुन्छ । समयमै पहिचान र उपचार भए कोरोना डरलाग्दो रोग होइन भन्ने जनतालाई आश्वस्त पार्नुपर्छ । योभन्दा खतरनाक रोगहरु धेरै छन् । कोरोनाको औषधि पत्ता नलागेको भए पनि यो बिसेक हुने रोग हो । यसको मृत्यूदर अहिले ३ प्रतिशत पनि छैन ।

यसको अर्थ कोरोना लागेका प्रत्येक १०० जनामध्ये ९७ जना विसेक भइरहेका छन् । मर्नेहरुमा पनि अन्य कडा रोगबाट पहिल्यैदेखि थलिएकाहरु र वृद्धवृद्धाहरु बढी छन् । थोरै पछाडि फर्केर हेर्ने हो भने यसअघि सन् २०१४–२०१६ मा महामारीका रुपमा फैलिएको इबोलामा ५० प्रतिशत मृत्यूदर थियो ।

सन् १९१८ मा महामारीको रुप लिएको इन्फ्लुएञ्जाले संसारकै एक तिहाई जनसंख्यालाई संक्रमित बनाएको थियो । संसारभरका ५ करोड मान्छे मरेका थिए । सिजनर फ्लुबाट नै विश्वमा वार्षिक ३ देखि ७ लाख मानिसहरुको मृत्यू हुने गरेको छ ।

अमेरिका र इटलीमा कोरोनाबाट मरेकाहरुको आँकडा मात्रै नहेरौं । सन्चो भएकाहरुको आँकडा पनि हेरौं र फैलाऔं । यसमा सञ्चार माध्यमले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । हामी आज यति मरे भनेर दैनिक आँकडा पस्किरहेका छौं । कोरोना लागेका कति बिसेक भए भन्ने कोणबाट सूचना छरौं ।


सम्बन्धित खवर

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ बैशाख २०७८, बिहीबार

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !
१६ बैशाख २०७८, बिहीबार

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार