×

एक लाखभन्दा बढी आउटसोर्सिङ कामदारले गुमाए रोजगारी

तामाङ आवाज


२३ वैशाख, काठमाडौं । कोरोना संक्रमणको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । त्यसमा पनि रोजगारी गरेर खाने वर्ग सबैभन्दा बढी प्रभावित छन् ।

अनौपचारिक क्षेत्रहरूमा कार्यरत मजदुरले मात्र होइन, अनौपचारिक क्षेत्रमा पनि श्रमिक आपूर्तिकर्ता (आउटसोर्सिङ) कम्पनीमार्फत काम गरिरहेका धेरै कर्मचारी तथा मजदुरले जागिर छाड्नुपरेको छ ।

 


‘आउटसोर्सिङ’ कम्पनीले उद्योग र व्यवसायिक प्रतिष्ठानहरूमा सुरक्षा गार्ड, क्लिनर, कार्यालय सहयोगी, ड्राइभर, रिसेप्सनिस्ट, टेलिफोन अपरेटर लगायतको आपूर्ति गरिरहेका छन् । कोरोनाको संकटपछि यो क्षेत्रको रोजगारीमा ३० प्रतिशत गिरावट आएको अनुमान छ ।

आउटसोर्सिङ एसोसियसन अफ नेपालका अनुसार यो क्षेत्रमा करिब पाँच लाखले रोजगारी पाएका छन् ।

सबै खालका मजदुरलाई असर

सरकारले आउटसोर्सिङ कामदारलाई सुरक्षा, सहजकारी, व्यवसाय सहयोग र घरेलु सहयोगी सेवा गरी चार प्रकारमा विभाजन गरेको छ । सेक्युरिटी गार्डको काम गर्नेहरू ‘सुरक्षा सेवा’ समूह र सरसफाइ, फोहोर व्यवस्थापन, क्याटरिङ–क्यान्टिन, माली तथा कार्यालयहरूमा चिया–खाजा तयार गर्नेहरूलाई ‘सहजकारी सेवा’ समूहमा पर्छन् ।

त्यस्तै, चालक, परिचालक, लोड–अनलोड, समान ओसारपसार, भण्डारण, मर्मत–सम्भार, प्राविधिक सहयोग, प्लम्बर, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मी लगायत निर्माण सेवामा काम गर्नेहरूलाई व्यवसाय ‘सहयोग सेवा’ समूहमा राखिएको छ । त्यस्तै, हाउसमेड, केयर गिभरलगायत घरेलु ‘सहयोगी सेवा’ समूहमा पर्छन् ।

श्रम ऐन र नियमावलीले आउसोर्सिङ गर्ने कम्पनीले सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । त्यसअनुसार हालसम्म एक सय ५० वटा कम्पनी दर्ता भएका छन् ।

एसोसियसनका उपाध्यक्ष अजयराज जोशी कोरोना संकटका कारण बन्द भएका अधिकांश उद्योग–प्रतिष्ठानले सबै प्रकृतिका सेवाका श्रमिक आपूर्तिको सम्झौता नै रद्द गर्न थालेको बताउँछन् । यसरी आउटसोर्सिङमार्फत काम गरिरहेका धेरैले रोजगारी छाड्नुपरेको उनले बताए ।

बैङ्क, होटल, रेस्टुरेन्ट, उद्योग, शैक्षिक संस्था, विभिन्न पसल तथा सुपरमार्केट र विभिन्न सेवा व्यवसायमा कार्यरत मजदुरहरू कटौतीको क्रम ह्वात्तै बढेको छ । लकडाउन लम्बिए बाँकी मजदुरको रोजगारी मात्र नभई आउटसोर्सिङ व्यवसाय नै धरापमा पर्ने जोशी बताउँछन् ।

‘सरकारले औपचारिक कम्पनीमार्फत तलब भुक्तानी गर्नुपर्ने असहज खालको प्याकेज ल्याएकाले पनि कर्मचारी कटौती हुने क्रम बढ्दो छ’, उनले भने, ‘त्यसमाथि लकडाउनको मोडालिटी यही रहे धेरै कुरा गुम्नेवाला छ ।’

उनका अनुसार कोरोनाबाट सिर्जित आर्थिक संकटका कारण कर्पोरेट हाउस र व्यापारिक प्रतिष्ठानहरूले आउटसोर्समार्फत रोजगारीमा रहेकाहरूलाई कटौतीको पहिलो प्राथमिकतामा राखेका छन् ।

कुन क्षेत्रमा कतिले गुमाए ?

होटल व्यवसाय प्रभावित हुन थालेलगत्तै आउटसोर्सिङ कर्मचारीलाई गत फागुनबाट बेतलबी बिदा दिन थालियो । कतिपय प्रतिष्ठानले कर्मचारी फिर्ता गरेका थिए भने कतिले अझै न्यूनतम तलब पाइरहेका छन् ।

आउटसोर्सिङबाट कर्मचारी लिएका अधिकांश प्रतिष्ठान लकडाउनमा बन्द भएपछि समस्याले चरम रुप लियो । सरसफाइ (क्लिनिङ)मा काम गर्नेमध्ये २० प्रतिशतले त्यही बेला रोजगारी गुमाएको एक अध्ययनले देखाएको छ ।

आउटसोर्सिङ बिजनेस एसोसियसनको प्रारम्भिक अध्ययनअनुसार सुरक्षा गार्डमा कार्यरतमध्ये २५ प्रतिशतले बिदा पाएका छन् । निजी आवास रेखदेख गर्ने सुरक्षा गार्डहरूको पनि जागिर गुम्न थालेको छ । अफिस स्टाफमध्ये ३५ प्रतिशतले रोजगारी छाड्नुपरेको छ ।

एसोसियसनका उपाध्यक्ष जोशी लकडाउनको अनुपयुक्त मोडालिटीका कारण समस्या भएको बताउँछन् । व्यवसायिक संघ–संस्था बाँच्न सक्ने, कामदारको रोजगारी नगुम्ने र स्वास्थ्य सतर्कता पनि हुने विधिबाट अघि बढ्नुपर्नेमा सरकारले अनुपयुक्त मोडेल अपनाउँदा धेरैले समस्या भोग्नुपरेको उनको भनाइ छ ।

निजी क्षेत्रको करबाट समेत चल्ने सरकारले संकटका बेला मजदुरको तलब भुक्तानीमा केही प्रतिशत दायित्व बोक्नुपर्ने व्यवसायीहरूको माग छ । सरकारले भने तलबको ५० प्रतिशत तुरुन्तै भुक्तानी गर्न र बाँकी तलब भुक्तानीमा समस्या भए सहुलियत दरको ऋण लिन भनेको छ ।

आधा तलब तुरुन्तै दिन आम्दानी नै नभएको र ऋणबाट तलब खुवाउन नसकिने उद्योगी–व्यवसायीको भनाइ छ । ‘अरू देशहरूले व्यवसाय र रोजगारी जोगिने गरी राहत प्याकेजहरू ल्याएका छन्,’ एसोसियसनका उपाध्यक्ष जोशी भन्छन्, ‘हामीकहाँ भने सरकारले ल्याएको प्याकेजकै कारण व्यवसायमा आघात पुगेको छ ।’

सरकारले दायित्व नलिने निर्णय गर्दा कामदार र कर्मचारी बढी मारमा परेको उनले बताए ।


सम्बन्धित खवर

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ बैशाख २०७८, बिहीबार

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !
१६ बैशाख २०७८, बिहीबार

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार