×

आजबाट काठमाडौंमा लकडाउन खुल्यो ?

तामाङ आवाज


लाङटाङ खबर : सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् ।

सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ । पहिले बिहान, साँझमात्रै खुल्ने खाद्यान्न पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ । कतिपयले सवारी साधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ ।

कतिपय व्यक्ति अब त लकडाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटियो । सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिलेजस्तै पालना गर्नुपर्छ भन्ने थाहा नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर बाहिर निस्केको पाइएको छ । उपत्यकामा निर्माणका लागि आवश्यक हार्डवेयर पसल खुल्ने भनिए पनि कतिपय स्थानमा चिया पसल, क्याफे, कस्मेटिक्सलगायत पसलसमेत खुलेको देखिन्थ्यो ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुपयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताए । लकडाउनको सुरुको साताभन्दा पछिल्लो समय पासको दुरुपयोग बढिरहेको उनले बताए । ट्राफिक प्रहरीले विभिन्न स्थानमा जाँच पनि बढाएको उनको भनाइ छ ।

आइतबार दिउँसोसम्म सवारी पासको दुरुपयोग गर्ने चार पाङ्ग्रे १०२ र दुई पाङ्ग्रे ४५८ गरी ५६० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । दैनिक ७०० देखि ८०० सम्म सवारी साधन कारवाहीमा परिरहेको उनले बताए । अहिले खुलेका कार्यालयमा जनशक्ति र सवारी साधनको प्रयोग सहीरुपमा भइरहेको छ/छैन भनी नियमनको जिम्मेवारी सम्बन्धित मन्त्रालयको सचिवलाई दिइएको छ । त्यससँगै ट्राफिक प्रहरीले पनि जाँच गरिरहेको छ ।

उपत्यकामा भीडभाड हुन नदिन कस्ता सवारी साधन कुन समयमा चल्न दिने भनी समय निर्धारण गरिएको छ । विकास निर्माणसम्बन्धी सामग्री बोकेका हेभी सवारी राति ८:०० देखि बिहान ६:०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९:०० देखि १९:३० सम्म तथा बेलुका ३:३० देखि ५:०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रमा भने पहिलेदेखि नै लकडाउनको समयमा समेत अत्यावश्यकबाहेकका पसल खुल्ने गरेकामा अहिले त्यो अझै बढेको छ । अत्यावश्यकबाहेकका पसल खुल्दा ती स्थानमा जुनसुकै समयमा मानिसको आवतजावत देखिन्छ । काँठ क्षेत्रमा प्रहरीको उपस्थिति कम हुँदा मानिस छोटो दूरीमा सवारी साधनको प्रयोग गरिरहेका छन् । यस क्षेत्रमा बिहान र साँझको समयमा घुम्न निस्कनेको भीड देख्न सकिन्छ । धेरै ठाउँमा चाडपर्वको समयमा जस्तै समूहमा बसेर खेल खेल्ने गरेको देखिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवालीले अहिले खुल्ला भएका विभिन्न कार्यालय र निर्माण क्षेत्रका कारण चहलपहल बढ्नु स्वाभाविक भएको बताए । उनका अनुसार खाद्यान्न र औषधिका पसल पहिले निश्चित समयमात्रै खुल्ने भए पनि अहिले दिनभर खुल्दा पनि मानिसहरु सडकमा बढी देखिएका छन् । लकडाउन उल्लङ्घन गर्नेलाई भने कारबाही भइरहेको उनले बताए ।


सम्बन्धित खवर

एसएसबीको प्रोपोगाण्डा : भारतमा कोरोना फैलाउन नेपालमा...
१८ फाल्गुन २०७६, आईतवार

‘घरभाडामा बस्नेले पनि विद्युत महसुल छुट पाउँछन्’
२९ चैत्र २०७६, शनिबार

चीन भर्सेस बाँकी विश्व : जब चीनले पासा पल्टायो
२९ चैत्र २०७६, शनिबार

प्रधानमन्त्री ओलीलाई गगन थापाका ११ प्रश्न
२८ चैत्र २०७६, शुक्रबार

होटलमा काम गर्ने ११ लाखको रोजगारी संकटमा छ : व्यवसायी
२८ चैत्र २०७६, शुक्रबार

काठमाडौं बाहिर जान दिने निर्णय सही थियो : जनमोर्चा
२८ चैत्र २०७६, शुक्रबार

कोरियाले विदेशी नागरिकको भिसा तीन महिना थप्ने
२८ चैत्र २०७६, शुक्रबार

रामेछापका सबै स्थानीय तहमा कोरोना रोकथाम कोष
२८ चैत्र २०७६, शुक्रबार

धनगढीमा कोरोनाका परीक्षणको उपकरण जडानमा ढिलाइ
२८ चैत्र २०७६, शुक्रबार