×

कविताको बाँसुरीमा माटोको धुन !

तामाङ आवाज


रेडियो नेपालको न्युजरुम । साँझ ७ बजेको समाचारको चाप । सबै आ–आफ्नै काममा व्यस्त । परिचित अपरिचित नम्बरबाट फोनको ताँती । प्रश्न एउटै थियो— राष्ट्रकविको कुरो के हो ?

यस्तै अपुष्ट खबरमा ‘स्कुप’ मार्ने लोभ गर्दा धेरैपटक, धेरैजना चिप्लिएको सम्झें । हतारहतार सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेख्दै–मेट्दै गर्नेको हुल पनि देखिएकै हो । अहिले त घटना सत्य हो तर कहिलेकाहीँ सत्यलाई पनि पुष्ट्याइँ चाहिँदो रहेछ । सोधूँ कसलाई ? सिधै उहाँको घरमा फोन गर्ने आँट आएन । अरूका लागि जे भए पनि आफैंले पनि त सात बजेका लागि समाचार लेख्नुथियो ।

 


अन्ततः प्रा.डा. हेमाङ्गराज अधिकारीलाई सम्पर्क गरें । हेमाङ्गराज सरको मधुरो आवाज पनि पहिलो पटक नमीठो अनुभव भयो । त्यही आवाज पनि रेकर्ड गरेर बोलें, ‘अब राष्ट्रकवि हामीबीच रहनुभएन ।’

पहिलो पटक सुनेको घिमिरे

ज्यामरुङको तत्कालीन शङ्खादेवी निमाविमा पढ्दा प्रार्थना सत्रमा ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली’ गाएर मात्र कक्षा प्रवेश गर्ने चलन थियो । यो क्रम कक्षा एकदेखिकै हो । गुरुहरू गुरुप्रसाद बुर्लाकोटी, राममणि दुवाडी, फणिन्द्र धमला तथा चेतबहादुर धमलाहरूले गाउने र हामी पछिपछि त्यही लयमा उच्चस्वरले छाती खोलेर पछ्याउने ।

बडो रमाइलो लाग्थ्यो तर त्यो गीत घिमिरेको रचना हो भन्ने थाहा थिएन । २०३७ सालमा कक्षा ५ मा पढ्दै गर्दा विक्रम पाण्डे सरले काठमाडौँबाट ‘गौरी’ र ‘मुनामदन’ लिएर जानुभएछ । उहाँ आफैं पनि कवि । कक्षा कोठामा गौरी यति मजाले पढ्नुहुन्थो कि हामी भावविह्वल भएर सुन्थ्यौँ ।

यी रोए पनि दुख्ख लाग्छ यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ यिनले फुर्की नखेले पनि ।

डा. नवराज लम्साल
हामीसँगै पढ्ने ध्रुव दाइका स–साना दुई बहिनी थिए । तिनैताका धुव्र दाइकी आमा बित्नुभएको थियो । विक्रम सरले गौरीका यी हरफहरू सुनाइरहँदा सबैका आँखा टिलपिल टिलपिल हुन्थे तर अचम्म ध्रुवदाइ नरोइकन सुनिरहन्थे एकोहोरो । अरू किन रुन्छन् र आमा बितेको मान्छेचाहिँ किन रुँदैन ? मलाई रहस्यजस्तो लाग्थ्यो । रुनु र नरुनुबीचको भेद । निकटको मान्छेमा कठोरता र अलि टाढामा निकटताजस्तो ।

संवेदनशीलताको कुरो मैले बुझिनँ र बुझ्ने अवस्था पनि थिएन । त्यतै कतै सघन संवेदनामा छजस्तो काव्यको जग ।

विक्रम सरले गौरीको प्रसङ्ग भन्दै र कविता सुनाउँदै गरेको क्षण मेरो कलिलो मनमा पहिलोपटक आँधी चलेको क्षण थियो । छन्द कविता र कविताको लय चेतनाले शायद त्यही बेला तानेको हो मलाई । कक्षामा पढ्दै गरेको पाठ्यपुस्तकमा बाहेक विक्रम सरकै मुखबाट सुनेको हुँ पहिलोपटक माधव घिमिरे यो नाम र उहाँकै हातमा देखेको हुँ पहिलो पटक माधव घिमिरेको किताब ।

पहिलो भेटेका घिमिरे

२०४३ सालतिर म संस्कृत छात्रावास तीनधारामा बस्थेँ । नियमित साहित्यिक कार्यक्रम भइरहने तीनधारामा एकपटक भव्य कविगोष्ठी भयो । कार्यक्रमको प्रमुख अतिथि कविवर माधवप्रसाद घिमिरे । बडो फूर्तिका साथ उनकोे काव्यिक भाषण र कविता वाचन भयो ।

छात्रावास बस्ने सबैजसोले छन्द कविता लेख्थे, धेरैले सुनाए पनि । मैले कविता पनि कविता सुनाउन र माधव घिमिरेसँग संवाद गर्न पाएँ । त्यसपछि उनीसंग निरन्तर भेट भयो र कविता लेखनको दरिलो जग बन्यो । त्यसै दिन घिमिरेकै मधुरस्वरमा सुनेको थिएँ–

‘अकालमा हे म मरी नजाऊँ
क्यै काम नौलो नगरी नजाऊँ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ ।

काल र अकाल । काम र नौलो काम । आयुष्य र भविष्य । मनुष्य र जीवन्त मनुष्य । देऊको आग्रह, दिने को र नदिने को ? प्रश्नसूचक जिज्ञासा । विचार पनि थिए, दृष्टिकोण पनि थिए र विचारसहितको लेखन खोज्नेहरूका लागि अनेकानेक सूत्र पनि थिए यी हरफहरूमा ।

कविताहरु सुनाइरहँदा उनको अनुहारमा देखिन्थ्यो निष्काम उज्यालोजस्तो चमक । हृदयको कञ्चनपन अनुहारमा सरेजस्तो । कविताले जीवन खारेजस्तो वा दर्शनको बाछिटाले नुहाएर सुकिलो भएजस्तो । त्यस दिन उनकोे बोली र वाचनमा मस्र्याङ्दी छचल्काएजस्तो र मन्दाक्रान्तामा कालीगण्डकी गड्गडाएजस्तो । आज पनि कानमा गुञ्जिएझैँ लाग्छ त्यही दिनको स्वर :

माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
कालीगङ्गा भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?

आहा ! घिमिरेजस्तो कवि बन्न पाए ! विद्यार्थीहरू यस्तै सोचेर जिब्रोले मुसार्थे आ–आफ्ना कलिला ओठ । छात्रावासको मूलद्वारबाट निस्कँदै गर्दा शिरमा हात राखेर तिम्रो काव्य चेतना बलियो छ, कविता लेख्न नछोड्नू भनेको कुरा आज पनि प्राध्यापक कोषराज न्यौपाने दाइ सम्झाइरहनुहुन्छ ।

पढेको घिमिरे

लमजुङको पुस्तुनबाट शहर पस्नुअघि नै कालीगण्डकीको ढुङ्गो शालिग्राम भएको देखेर आएका कविको मनमा उतिखेरै कुँदिएको हुनुपर्छ ढुङ्गा त शालिग्राम बन्छ भने मेहनतले मान्छे झन् कति सुन्दर होला भन्ने यो काव्यिक चेतना ! यही चेतनाले ऊर्जा भरेको होला निरन्तरको लेखनयात्रामा ।

कविकर्म अन्तर्मुखी यात्रा हो । अन्तरको आवाजमा सत्य र स्वभावोक्ति । सत्य न ज्यादा आग्रहको भारी हो न कला नाममा कलाहीन भद्दापन । राष्ट्रनिर्माता लेख्दा दलमर्दनलाई पनि मुखपात्र पृथ्वीनारायणलाई भन्दा कम तर्क दिएनन् र गौरीलाई शोकमै अमर बनाए ।

बाँसुरी फुटेपछि रोएको मङ्गले र मालतीलाई उत्तिकै माया गरे । राजेश्वरीमाथिको राजकीय मारमा उठेको मानवताको विश्वचेत र अश्वत्थामाको अन्तर्राष्ट्रिय विषय सन्दर्भ । निबन्ध सहङ्ग्रहभित्र पाइने कोमल भाषाको विकीर्ण चिन्तन वा गीतहरूमा उनिएको अनुभूतिको मिठास ।

साहित्यमा के भन्ने यो कुरा जति महत्वपूर्ण छ कसरी भन्ने त्यो पनि त्यत्तिकै महत्वपूर्ण छ । भन्नैका लागि भन्ने कि कसैको आग्रह वा इच्छा पूरा गर्न भन्ने ? कवि हृदयमा फुटेको मूललाई प्रवाह दिने कि इष्र्या, आक्रोश र कुण्ठाको बाढी चलाउने ?

यी सबैभन्दा माथि उठ्ने चेतना जति चुलिँदै र अग्लिँदै जान्छ काव्य त्यति नै गहिराइमा डुब्दै जान्छ । सघन अनुभूतिको उपल्लो झिल्को नदेखी वयान, वर्णन र विवरणको लस्कर कविता हुनै सक्तैन । यही सत्यको बोध घिमिरेको दिव्यबोध हो शायद ।

चिन्तनसँगै घिमिरे कलाका पनि उपल्लो पारखी हुन् र शब्दशिल्पमा भाव लपक्क नहुन्जेल लेख्नुमेट्नु, लेख्नुमेट्ने र फेरि लेख्नुको साधनाले उनलाई कलामय र जनप्रिय बनाएको हो । कुनै शब्दको प्रयोगले कहीँ कतै बिझाउँदैन । सबै मीठा, सबै रसिला र सबै झरिला ।

सरसंगतका घिमिरे

धेरै पटक उनकै घरमा बसेर गफिने मौका मिलेको थियो मलाई । परिवारका प्रत्येक सदस्यले मलाई सहजरूपमा स्वीकार गरेझैँ लाग्थ्यो । कहिलेकाहीँ फोन नै नगरी बाटो पर्दा त्यत्तिकै फुत्त पुग्थेँ । राष्ट्रकविज्यू हुनुहुन्छ भनेर तलैबाट सोध्दा परिवारजनले ‘हुनुहुन्छ माथि नै आउनुस् न’ भने भने स्वास्थ्य अलि ठीक रहेनछ भनेर बुझ्थेँ र ‘हुनुहुन्छ एकै छिन तल बस्दैगर्नुस् है’ भने भने स्वस्थ हुनुहुँदोरहेछ भनेर बुझ्थेँ ।

उनी एकै क्षणमा तल आउँथे र गफ लामै चल्थ्यो । उनको कविता लय हालेर कण्ठ सुनाउन थालेपछि उनको मुहारमा असीमित खुसी नाच्न थाल्थ्यो ।

एक दिन मैले सोधेँ मन पर्ने कविहरू को को हुन् ? एउटा कविलाई सोध्नै नहुने प्रश्न थियो सायद तर उनले भने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल, रविन्द्रनाथ ठाकुर र कालीदास । संस्कृत पृष्ठभूमिबाट उठेको उनको चेतनास्तम्भ, देवकोटाको बेजोड ज्ञान प्रवाहमा उठेको स्वच्छन्दतावाद र पौडेलको शास्त्रीयता !

भावमा देवकोटाको उत्तराधिकारी, शैलीमा लेखनाथपथको अनुयायी र कल्पनामा कालीदासको झल्को तर आफैँमा पूर्णता र सङ्लोपन । लोकलय, लोकबिम्ब, ग्रामीण सन्दर्भ र जीवन भोगाइमाथिको बेदाग अनुभूति ।

‘तपाईँलाई कालीदासप्रति निकै गहिरो मोह रहेछ’ मैले भनेथेँ । फुर्किएर रघुवंश र कुमार संभवका धेरै पङ्ति कण्ठस्थ सुनाएका थिए । एकातिर संस्कृत परम्पराको काव्यबोध र अर्कोतिर लमजुङको ग्राम्यजीवन ! दोसाँधमा थिए घिमिरे । उनलाई अझै लमजुङ गएर रोदी बस्ने रहर छजस्तो र फेरि एकपटक पुरै कालीदास पढ्ने रहर छजस्तो ।

देशको वस्तुस्थिति र परिस्थितप्रति सधैँ सचेत । ‘पूर्वको राजनैतिक चेतना र भाषा, पश्चिमको लोकलय र सुदूर पश्चिमको संस्कृति निकै मन पर्छ ।’ निकै चलाखीपूर्ण तर सत्य भनाइ थियो तर उनी आफूले गरेको दुःख, संघर्ष, परिवार लालनपालन र गृहस्थीको कथा पनि लुकाउँदैनथे ।

त्यसदिन कविताकै शैलीमा सङ्क्षेपमा भनेथे– ‘तपाईँ धादिङबाट आएर कर्ण, धरा लेख्दाको दिन सम्झनू न ! तपाईँको पुस्ता अलि पछि आयो म अलि अघि आएँ । पूर्व र पश्चिम जताबाट आए पनि बाहिरबाट राजधानी छिरेपछि प्राय सबैको सङ्घर्ष कथा उही र उस्तै नै हो । झन् संस्कृत पठन पाठनको कुरा तपाईँलाई थाहै छ ।’

व्यक्तिगत सम्बन्धमा घिमिरे

जीवनमा दुई पटक दिनभरि जसो उनको निवासमा बसेर कविता सुनाएको छु । मेरो पहिलो कवितासङ्ग्रह पाइलैपिच्छे सगरमाथा प्रकाशनपूर्व २०६० सालमा मेरा गद्य कविताहरू सुनाएको थिएँ । ती कविताहरू मन पराउनु पनि भयो र भूमिका पनि लेखिदिनुभयो तर गुनासो थियो छन्दमा किन नलेखेको ?

आफूले कर्ण महाकाव्य लेख्दै गरेको भनेर उम्केको थिएँ । कर्ण पनि उनको हातमा पुर्‍याएँ र पछि धरा पनि । धरामा पनि केही लेखिदिनुभएको छ । ती दुवै सन्दर्भ मेरा लागि आशीर्वादका रूपमा सुरक्षित रहने छन् ।

अर्को एउटा संयोग पनि छ । साथी दिवाकर शर्मा र टङ्क खनालसँगै एक दिन म उनको निवास पुगेँ । दिवाकरजी घिमिरेको एउटा गीत गाउन चाहन्थे । पछि गाए पनि ‘तिर्खाकी पानी’ ।

कुरा उठ्यो मधुवनको । बिना सोचीविचारी बिनास्कृप्ट उनले फुत्त भने— ‘मधुवनमा नेपाली साहित्यका सुगन्ध र मीठा आवाजहरू प्रसार गरिराखेको छ । नाम पनि मधुवन छ काम पनि मधुवन छ ।’

त्यही बेला रेकर्ड गरेर यसैलाई प्रोमो बनाएर वर्षौँदेखि प्रसारण गर्दै आएको छु । मधुवन शुरू गर्दा सधैँ उनको झल्को आइरहन्छ । अब त झन् कठिन होला त्यो सम्झना सायद । साइँली रिमै चौँरी गाई झर्‍यो रिमै मधुवनैमा गाउने धर्मराज थापा पनि छैनन् र प्रामोमा आवाज दिने घिमिरे पनि बिते ।

राष्ट्रकवि तपाईंले भनेको सत्य होस्, मृत्यु भनेको पुनर्जन्मको शुरुवात होस् र तपाईंको पुनर्जन्म नेपालमै होस्
गद्य लेखनका घिमिरे

संस्कृतमा एउटा भनाइ छ– गद्यङ्कविनाम् निकषम् वदन्ति अर्थात् गद्य लेखन कविहरूका लागि झन् कठिन हुन्छ भन्छन् तर घिमिरेको गद्य लेखन झन् बेजोड लाग्छ ।

कवितामा कुँदिएको शिल्प गद्यमा झन् भर्भराउँदो र परिपक्व लाग्छ । ‘आफ्नो बाँसुरी आफ्नै धुन’ र ‘चारु चर्चा’ पढेपछि हरेक पाठक हुरुक्क हुन्छ । धेरै लेख्नु पनि पर्ने रहेनछ । त्यही गद्यशिल्पको ताकतले पनि उनका कविताले उचाइ पाएका हुन् ।

कविता कविता भएन भने र कविमा अन्तरउज्यालोले प्रवेश पाएन भने गद्य लेखेर के ? पद्य लेखेर के ? गद्य र पद्य भन्नु त फगत माध्यम हुन्, साधन हुन् साध्य त कवितै हो । अनुहार आफैँ कुरूप भए के गर्छ शृङ्गारले ?

घिमिरे अनुभूतिको झिल्का स्पर्ष गरेर कुँदिएका कोमलतम कवि हुन्, साँच्चै कवि र सार्थक कवि । ‘यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ ।’ यो त उनको घोषणापत्रै हो । आकारको तहमा सानै कृति लेखे सानैमा पूर्ण संसार दिए ।

गीतकार घिमिरे

चाहे त्यो राष्ट्रभक्तिको गीत होस् चाहे बालगीत र अन्य । गीतमा कविताको प्राण बसेजस्तो र कवितामा गीतको सङ्गीततत्व मिसिएको जस्तो तर कुनैमा कुनै थोपरिएजस्तो होइन लपक्क मिलेजस्तो ।

भँगेरा र भँगेरी कुरा गर्छन् कसोरी
चुरचुर गर्छ भँगेरो चिरचिर गर्छे भँगेरी !

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।

माथिका दुई गीतको लय, शिल्प र चेतना तथा दृष्टिबिन्दुबीच लेखकीय प्रवाह र मिठासमा भेटिने मधुरता नै घिमिरे घिमिरे हुनुको प्रयोग हो । ‘किन्नर किन्नरी’ नेपाली गीतिकविता वा गीतसङ्ग्रहको उपल्लो प्राप्ति हो । घिमिरेका गीतहरू पछिल्लो पुस्ताले पनि निकै गाएका छन् ।

पुरानो पुस्ताको झमझम पानी पर्‍यो असारको रातदेखि गाउँछ गीत नेपाली, फूलको थुङ्गा बगेर गयो, आजै र राती के देखेँ सपना, तिर्खाकी पानी, सारङ्गी त रेटे पनि, उसको प्रीति पहिले हो कि जस्ता गीतहरूको निकै लामो सूची बनाउन सकिन्छ । बालगीतमा पनि उनको योगदान विशिष्ठ छ ।

भोलि गीत पनि धेरैले लेख्लान् र लेखिएलान्, कविता पनि धेरैले लेख्लान् र लेखिएलान् । यो निरन्तर शृङ्खला भोलि झन् बलियो हुँदै जाला र जानेछ तर घिमिरेको उपस्थितिको यो समयखण्ड काव्यिक शिल्प–साधनाको एउटा बेजोड सन्धीयुगका रूपमा सदैव सुरक्षित रहने छ ।

स्वच्छन्दतावादी भावधारामा उनको उपस्थिति र लेखनको शास्त्रीयतावादी शैली । नेपाली काव्यमा शिल्प मर्दै नारा र गालीहरूको फैलावट हुँदै गए पनि र कविताले कलाकै बाटोमा यात्रा तय गरिरहे पनि कलाकोणबाट सम्झिँदा, समीक्षा, समालोचना हुँदा घिमिरे नै नेपाली साहित्यको उपल्लो धुरी हुन्, हुनेछन् र भइरहने छन् । यही हो उनको प्राप्ति ।

अन्तिम कुराकानी

कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु भयो । रेडियो नेपालको एउटा समूह क्वारेन्टाइन बनाएर रेडियोमै बस्यो ।

चैत १६ गते साँझ फोन गरेँ र सोधेँ – अलिअलि फोनमा बोल्न सकिएला ? उत्साही हुँदै उनले भने – ‘बोल्छु बोल्छु । जीवन रहेमात्र संसार रहने हो । जीवन रहेमात्र सिर्जना पनि हुने हो र विकास हुने हो । यी सबै कुराका लागि बाँच्न जरुरी छ । यो महामारीमा संयम हुनुस् । सरकारको घोषणा, यो लकडाउनको पूर्ण पालना गर्नुस् ।’

उनले देशवासीलाई आग्रह गरेका थिए । त्यो आवाज धेरै पटक प्रसारण गरेँ । मैले रेकर्ड गरेको उनको अन्तिम आवाज त्यही रह्यो ।

मृत्युको समाचार

न्युजरुममा लगातार बजेको मोबाइल र एसएमएस साइलेन्समै छोडेर हेमाङ्गराज सरसँग सम्वाद गरेपछि अशोक मिश्रजीलाई न्युज बनाउन भनेँ र म घिमिरेको आवाज खोज्न गएँ ।

मधुवन कार्यक्रमको प्रोमोमा उनले बोलेको वाक्य– ‘नाम पनि मधुवन र काम पनि मधुवन’ कानमा बजेको बज्यै गर्‍यो । हेमाङ्ग सरको आवाज सम्पादन र घिमिरेकै आवाजको खोजी गर्दा नगर्दे समाचारको धुन बजिसकेको थियो । घिमिरेको आवाज क्लिप स्टुडियो पुग्दा अच्युत अर्यालले समाचार पढ्न शुरु गरिसकेका थिए ।

घिमिरेको आवाजसँगै लाइब्रेरीमा गएर खोजेँ उनका गीत । सम्पर्क गरेँ वरिष्ठ समालोचकद्वय प्रा.डा. अभि सुवेदी र प्रा.डा. गोविन्दराज भट्टराईसँग । तयार भयो एउटा रिपोर्ट । नौ बजेको समाचारमा रिपोर्ट प्रस्तुत गरेर घर फर्कँदा मनमा खेलिरह्यो— सुवेदी सरको ‘देवकोटातुल्य उचाइ र कहिल्यै पुरानो नहुने घिमिरेको लेखन’ भन्ने टिप्पणी र ‘शास्त्रीय तथा लोकलयका माध्यमबाट राष्ट्रिय मूल्यबोध र राष्ट्रिय चिन्तनलाई जनस्तरमा पुर्‍याउन गर्नुभएको योगदान’ भन्ने भट्टराई सरको ठम्याइ ।

साँझ जति गहिरिँदै गयो र जति बाक्लिँदै गयो रात त्यति नै नमिठो लाग्न थाल्यो समय । अघि भर्खर रिपोर्टमा समावेश उनकै भनाइ सम्झें— ‘म मृत्यु हुन्छ भन्ने नै मान्दिनँ, मृत्यु भन्नु पुनर्जन्मको शुरुवात हो ।’

राष्ट्रकवि तपाईंले भनेको सत्य होस्, मृत्यु भनेको पुनर्जन्मको शुरुवात होस् र तपाईंको पुनर्जन्म नेपालमै होस् ।


सम्बन्धित खवर

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै...
२५ असार २०७७, बिहीबार

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे...
२४ जेष्ठ २०७७, शनिबार

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित
२२ जेष्ठ २०७७, बिहीबार

विज्ञहरुसँग प्रधानमन्त्रीको ५ घण्टा लामो छलफल : लकडाउन...
२१ जेष्ठ २०७७, बुधबार