×

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ सरकार ?

तामाङ आवाज


१२ भदौ, काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ४ देखि एक साता निषेधाज्ञा लागू गर्‍यो ।

सात दिन सकियो, अर्को सात दिन अर्थात १७ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । तर यो ९ दिनमा सम्भावित महामारी टार्न गर्नुपर्ने कामहरु पर्याप्त भएको छैन । संक्रमित पहिचानका लागि महत्वपूर्ण मानिने कन्ट्याक्ट ट्रेसिङ अझै प्रभावकारी छैन भने समुदाय स्तरमा परीक्षण पनि सुरु गरिएको छैन ।


एउटा उदाहरण हेरौं,

नयाँ बानेश्वरका एक विद्यार्थीले निजी ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । शनिबार विहान स्वाब दिएका उनी साँझ नै होम आइसोलेसनमा बसेका थिए । तर ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट आइतबार साँझ मात्र आफू संक्रमित भएको औपचारिक खबर पाए ।

ईडीसीडीबाट फोन गर्ने व्यक्तिले उनलाई आइसोलेसनमा बस्न र प्रशस्त तातोपानी खान सुझाव दिए । तर संक्रमितमा लक्षण भए–नभएको, होम आइसोलेसनमै बस्दा मापदण्ड अनुसारको घर वा कोठा भएको वा नभएको सोधीखोजी गरेन ।

त्यसको २/३ दिनपछि काठमाडौं महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलीले फोन गरेर स्वाब दिनु ४८ घण्टाअघि प्रत्यक्ष सम्पर्कमा भएकाहरुको सोधीखोजी गर्‍यो । त्यसपछि बल्ल वडा कार्यालयले क्लोज कन्ट्याक्टमा रहेकाहरुलाई फोन गरेर स्वाब संकलन नहुँदासम्म होम आइसोलेसनमा बसिदिन आग्रह गर्‍‍यो, त्यतिबेलासम्म संक्रमित विद्यार्थीले स्वाब दिएको चार दिन भइसकेको थियो ।

‘मलाई संक्रमण पुष्टि भएलगत्तै परिवारका सबै होम आइसोलेसनमा बस्नु भएको थियो । त्यसैले ढिलो खबर हुँदा पनि फरक परेन’ संक्रमित विद्यार्थी भन्छन्, ‘तर सबैको हकमा आइसोलेनसमा बस्न मिल्ने अवस्था हुन्छ कि हुन्न ? यदि कुनै सदस्यलाई संक्रमण रहेछ र ४/५ दिनसम्म आइसोलेसनमा बसेन भने के होला ?’

यो त प्रतिनिधि घटना मात्रै हो, काठमाडौं उपत्यकामा संक्रमण बढ्दै जाँदा संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण नभएको गुनासो धेरै आउने गरेको छ । आफूले हेर्ने गरेका बिरामीहरुले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नगरेको गुनासो गर्ने गरेको कोभिड अस्पतालका चिकित्सकहरु सुनाउँछन् ।

त्यसो भए निषेधाज्ञा जारी गरेर सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा ईडीसीडी चाहिँ के गर्दैछ ?

कन्ट्याक्ट ट्रेसिङका लागि प्रत्येक गाउँपालिकाले १, नगरपालिकाले २ र महानगरपालिकाले ५ वटा टिम बनाएको छ । काठमाडौं महानगरपालिकाले भने १० वटा टोली बनाएको छ । हरेक टिकमा पारामेडिक्ससहित जम्मा तीन जना हुन्छन् ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम केही नगरी हात बाँधेर बस्न निषेधाज्ञा नगरिएको बताउँछन् ।

उनकाअनुसार मन्त्रालय, ईडीसीडी, स्थानीय तहहरु महामारी नियन्त्रणमा लागेको छ । ‘निषेधाज्ञामा मानिसहरुको चहल पहल कम हुने भएकाले संक्रमण दर कम हुन्छ । यो अवधिमा संक्रमित व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ’ डा. गौतम भन्छन्, ‘सरकार र यसका निकायहरुले महामारी नियन्त्रणमा काम गरिरहेको छ, जनताको सहयोग चाहियो ।’

ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डे पनि काठमाडौं उपत्यकामा तीनवटै जिल्लाका जनस्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भइरहेको बताउँछन् ।

उनका अनुसार सबै स्थानीय तहमा कोभिड रेस्पोन्स टिम बनेको छ र, यही टिमले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरिरहेको छ । ‘अहिले जनस्वास्थ्य कार्यालय र स्थानीय तहहरु कन्ट्याक्ट ट्रेसिङ गर्ने मात्रै होइन, आफैं स्वाब संकलन पनि गरिरहेका छन्’ पाण्डे भन्छन्, ‘हामी सबै महामारी नियन्त्रणमा जुटेका छौं ।’

उपत्यकामा कुल संक्रमितको संख्या ४ हजार बढी छ । शुक्रबार मात्र काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी उपत्यकामा ४१५ जना संक्रमित थपिए । बिहीबारदेखि ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । काठमाडौंमा त धेरै अघि नै सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको थियो ।

अहिलेसम्म पहिचान भएका संक्रमितमध्ये केहीको कन्ट्याक्ट ट्रेसिङ गर्न बाँकी रहेको भन्दै ईडीसीडीका निर्देशक डा. पाण्डेले भने, ‘हामीले अहिले गरेको कामको रिजल्ट तत्काल देखिन्न, केही दिनपछि संक्रमणको ग्राफ विस्तारै घट्न थाल्छ ।’

एक जना संक्रमित भेटिँदा उनीहरुको क्लोज कन्ट्याक्टमा भएका औसतमा १० जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएको डा. पाण्डेको दाबी छ । तर उनको दाबी र वास्तविकता भने फरक छ । किनभने शुक्रबार उपत्यकामा भेटिएका ४१५ संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा एक जना बराबर १० जनालाई ट्रेस र टेष्ट गर्ने हो भने ४५०० जनाको गर्नुपर्ने हुन्छ । त्यसका लागि न जनशक्ति छ, न त्यसअनुसार तयारी नै ।

कन्ट्याक्ट ट्रेसिङका लागि प्रत्येक गाउँपालिकाले १, नगरपालिकाले २ र महानगरपालिकाले ५ वटा टिम बनाएको छ । काठमाडौं महानगरपालिकाले भने १० वटा टोली बनाएको छ । हरेक टिकमा पारामेडिक्ससहित जम्मा तीन जना हुन्छन् ।

अधिकारीहरुका अनुसार जब कुनै व्यक्तिमा संक्रमण पुष्टि भई स्वास्थ्य मन्त्रालयको दैनिक अपटेडमा उनको विवरण समावेश हुन्छ, त्यसपछि बल्ल ईडीसीडीले जिल्ला जनस्वास्थ्य कार्यालयलाई सूचना दिन्छ । त्यहाँबाट स्थानीय तहको स्वास्थ्य शाखा र कन्ट्याक्ट ट्रेसिङ गर्ने टिममा संक्रमितको सूचना पुग्छ । तर ईडीसीडीबाट सूचना आउँदा नआउँदै संक्रमितको अर्को संख्या आइसकेको हुन्छ । जनस्वास्थ्य कार्यालयका एक अधिकारी भन्छन्, ‘ईडीसीडीले कहिलेकाहीँ तथ्यांक पठाउन ४/५ दिन लगाउँछ र हामीलाई समस्या हुन्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भने निषेधाज्ञाको अवधिमा महामारी नियन्त्रण गर्न के–कस्तो काम भयो भन्ने अबको २ देखि ३ हप्तामा देखिने बताउँछन् ।

उनका अनुसार अहिले उपत्यकामा भेटिएको संक्रमण निषेधाज्ञा गर्नुअघि फैलिएको संक्रमण हो । ‘यो निषेधाज्ञामा महामारी नियन्त्रण गर्न सरकारले के गर्‍यो वा गरेन भनेर अहिले हामीले बोल्नै पर्दैन, अबको २ हप्तापछि तथ्यांकले बोल्छ’ डा. कोइराला भन्छन्, ‘दुई हप्तापछि संक्रमित घट्न थाले भने सरकारले लकडाउन गरेर महामारी नियन्त्रणमा जुटेछ भन्ने बुझ्नुपर्छ, संक्रमित बढिरहे भने सरकारले लकडाउन गरेर चूप लागेर बसेछ भन्ने बुझ्नुपर्छ ।’

संक्रमित बढेको बढ्यै

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित भएको जिल्ला काठमाडौं हो ।

संक्रामक रोग विशेषज्ञ डा. कोइराला भन्छन्, ‘दुई हप्तापछि संक्रमित घट्न थाले भने सरकारले लकडाउन गरेर महामारी नियन्त्रणमा जुटेछ भन्ने बुझ्नुपर्छ, संक्रमित बढिरहे भने सरकारले लकडाउन गरेर चुप लागेर बसेछ भन्ने बुझ्नुपर्छ ।’
काठमाडौंमा शुक्रबारसम्म ३ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ भने ३४६ जना निको भएका छन् । ३ हजार ९३ जना सक्रिय संक्रमित छन् ।

ललितपुरमा ५८६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जनाको मृत्यु भएको छ भने ५५ जना निको भएका छन् । ५१७ जना सक्रिय संक्रमित छन् ।

भक्तपुरमा ३५४ जनामा संक्रमण देखिएको छ । तीमध्ये ३ जनाको मृत्यु भएको छ भने ४६ जना निको भएका छन् । जिल्लामा ३१७ जना सक्रिय संक्रमित छन् ।

उपत्यकामा साउन ७ गतेदेखि भदौ १२ गतेसम्मको अवधिमा सबैभन्दा बढी बुधबार ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । भदौ ११ गते ३७७, भदौ १० गते ३०१, भदौ ९ गते २३२, भदौ ८ गते २२४, भदौ ७ गते १६६, भदौ ६ गते २१६, भदौ ५ गते १८२ र भदौ ४ गते २ सय जनामा संक्रमण देखिएको थियो ।

प्रशासन कार्यालयहरुले निषेधाज्ञाको आदेश जारी गर्नुअघि भदौ ३ गते १५९, भदौ २ गते २०५, भदौ १ गते १६८ जनालाई संक्रमण पुष्टि भएको थियो ।

लकडाउन खुलेको दिन साउन ७ गते जम्मा ३ जनालाई मात्र संक्रमण देखिएको थियो । साउन ८ गते ९, साउन ९ गते १०, साउन १० गते ३, साउन ११ गते ८, साउन १२ गते ६, साउन १३ गते ५३, साउन १४ गते १५, साउन १५ गते ४८, साउन १६ गते ३८ जनालाई संक्रमण देखिएको थियो ।

तर, शुक्रबारसम्म आइपुग्दा उपत्यकाका तीन जिल्लामा गरी संक्रमितको संख्या ४ हजार ८११ पुगेको छ ।

निषेधाज्ञामा सरकारले के गर्नुपर्छ ?

संक्रामक रोग विशेषज्ञ डा. कोइराला निषेधाज्ञाको समयमा सेरोलोजी टेस्ट गरेर संक्रमित धेरै देखिएको ठाउँमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण व्यापक बनाउनुपर्नेमा जोड दिन्छन् । समुदायमा सेरोलोजी टेस्ट, संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरेर संक्रमितलाई व्यावस्थापन गर्न सके महामारी अझै पनि नियन्त्रणभित्रै रहेको कोइरालाको कथन छ ।

सेरोलोजी टेस्ट एण्टीबडी टेस्ट हो, जसले निको भइसकेको संक्रमणसमेत देखाउँछ । र, त्यसका आधारमा कुन क्षेत्रमा संक्रमण कुन स्तरमा छ भन्ने थाहा हुन्छ । डा. कोइराला भन्छन्, ‘अहिलेको अवस्थामा धेरैभन्दा धेरै संक्रमितको पहिचान गर्ने र आइसोलेट गर्नु नै महामारी नियन्त्रणको प्रमुख अस्त्र हो ।’

साथै यो अवधिमा धेरै क्षेत्रका विज्ञहरुसँग छलफल गरेर निषेधाज्ञा खुलाउँदा कहाँ कसरी खुलाउने भन्ने रणनीति बनाउनुपनुपर्ने डा. कोइरालाको जोड छ ।

अधिकांश जनस्वास्थ्य विज्ञहरु दीर्घकालीन लकडाउनले जनजीविका, अर्थतन्त्र, स्वास्थ्य सेवा, शिक्षालगायत सबैलाई ध्वस्त पार्ने र समाज नै कुँजो बनाउने बताउँछन् । त्यसैले लकडाउन गर्ने निर्णय लिँदा महामारीको प्रकृति कहाँ कस्तो छ भनेर बुझ्नुपर्ने उनीहरुको तर्क छ ।

‘अब पनि विषेधाज्ञाको सदुपयोग गरिएन भने त संक्रमण घट्दैन’ जिवाणु वैज्ञानिक डा. सुदीप खड्का भन्छन्, ‘समुदायमै गएर व्यापक टेष्ट र ट्रेसिङ नगर्ने हो भने लक्षण रुपमा संक्रमितको संख्या त घट्ला, महामारीलाई रोक्न सक्देनौं ।’


सम्बन्धित खवर

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै...
२५ असार २०७७, बिहीबार

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे...
२४ जेष्ठ २०७७, शनिबार

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित
२२ जेष्ठ २०७७, बिहीबार

विज्ञहरुसँग प्रधानमन्त्रीको ५ घण्टा लामो छलफल : लकडाउन...
२१ जेष्ठ २०७७, बुधबार